कञ्चनपुर। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्ति फेरि विवादमा तानिएको छ। राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्तिमा उपेक्षा गरिएको भन्दै विद्यार्थी संगठनले पदाधिकारी नियुक्ति खारेजको माग गरेको छ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले विगतलाई निरन्तरता दिदैं गत महिना राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गरेको थियो। विश्वविद्यालय स्थापनापछि राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्त हुँदै आएका छन्।
यस पटक नेकपा(एकीकृत समाजवादी) बाहेक अन्य सबै दल विश्वविद्यालयमा पदाधिकारी भएका छन्। नेकपा एमाले विभाजन भएर बनेको समाजवादीलाई नयाँ दल भएकाले पदाधिकारीमा उपेक्षा गरिएको बताएको छ। विश्वविद्यालय पदाधिकारी नियुक्तिपछि समाजवादी आवद्ध विद्यार्थी संगठन विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएको छ । विद्यार्थी संगठनले पदाधिकारी नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने अखिलका अध्यक्ष रमेश पन्तले बताए।
विश्वविद्यालयका एक अधिकारीले राजनीतिक भागबण्डामा समाजवादीलाई पनि पदाधिकारी नदिनु राम्रो नभएको बताए । ‘अब त समाजवादी पनि दल भयो, सबैलाई दिँदा समाजवादीलाई पनि दिँदा के फरक पथ्र्यो त’ ती अधिकारीले भने,‘त्यसले दलहरुमा त हेला गरिएको भान परि हाल्छ ।’ पदाधिकारी नियुक्तिको क्रममा विश्वविद्यालयमा समाजवादी आवद्ध प्राध्यापक खुलेको नदेखिएपछि छलफल रोकिएको स्रोतको दाबी छ। नियुक्ति खुलेर पदाधिकारी आएपछि समस्या देखिएको स्रोत भन्छ। विश्वविद्यालयको पदाधिकारी भागबण्डामा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा समेटिएको छ। त्यसमा सबैभन्दा बढी भाग सत्तारुढ काँग्रेसले हात पारेको छ ।
विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रार दुबै काँग्रेस कोटाका हुन् । सबैभन्दा बढी भाग पाएर पनि काँग्रेसका प्राध्यापक संगठनभित्र असन्तुष्टि चर्किएको छ । संगठनका पूर्व अध्यक्ष कर्ण देब भट्टले संगठन छाडेका छन्। काँग्रेस कोटाबाट यस पटक सुरेन्द्र भण्डारी, डा. किसनदेब भट्ट, डा.हरिश चन्द्र भट्ट, डा.मदन सिह देउपा, हरि शंकर पन्त, गोबिन्द बल्लभ भट्ट र लोक बहादुर महरा पदाधिकारी भएका छन् । उनीहरुमध्ये इन्जिनियरिङ्ग संकायका डीन डा. किसनदत्त भट्टको दोस्रो कार्यकाल हो ।
भण्डारीले विश्वविद्यालयको योजना परिषद्मा जिम्मेवारी पाएका छन् । डा. देउपा शिक्षा शास्त्र संकाय र पन्त व्यवस्थापन संकायमा सहायक डीन भएका छन् । नेपाली भाषाका प्राध्यापक डा. भट्टले भाषा तथा संस्कृति अध्ययन केन्द्र निर्देशकको जिम्मेवारी पाएका छन् । यसैगरी काँग्रेस कोटाबाट गोबिन्द बल्लभ भट्ट विश्वास सह परीक्षा नियन्त्रक र लोक बहादुर महरा परीक्षा सह नियन्त्रक भएका छन् ।
सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले दुबै तीन-तीन जना पदाधिकारी पाएका छन् । एमाले कोटाबाट डा. राजेन्द्र भट्ट पाठ्यक्रम विकास केन्द्रको निर्देशक भएका छन्। विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रिन्सिपल प्रा.कुम्भ बहादुर चन्द र शिक्षा शास्त्र संकायको डीन डा. भवानी चलाउने भएका छन्। कैलालीका चलाउनेलाई लिएर एमालेभित्र असन्तुष्टि छ । अहिले चलाउनेलाई समाजवादी कोटाबाट नियुक्त गरिएको हल्ला पनि बाहिर आएका छन् ।माओवादी केन्द्रबाट कर्ण बहादुर थापा, बीर बहादुर सिह र डा. गोविन्द विष्ट पदाधिकारी भएका छन् । उनीहरुमध्ये डा। विष्ट यस अघि शिक्षा शास्त्र संकायका डीन थिए । उनलाई अनुसन्धान निर्देशक बनाइएको छ । थापा कानुन संकायको डीन र सिह सह परीक्षा नियन्त्रक भएका छन् ।
विश्वविद्यालयमा कानुन संकाय नयाँ थपिएको हो। विप्लव नेतृत्वको नेकपा आवद्ध प्रेम सिह भाट मानविकी तथा सामाजिक शास्त्र संकाय सहायक डीन भएका छन् । उनी यस अघि सह परीक्षा नियन्त्रक थिए। विश्वविद्यालय स्थापनापछि एमाले आवद्ध प्रा.डा. जयराज अवस्थीले पहिलो कार्यकाल उपकूलति भएका थिए । त्यसपछि डा. भुषण श्रेष्ठ र अहिलेका उपकूलपति प्रा.डा. अम्मराज जोशी दुबै काँग्रेस कोटाका हुन्। विश्वविद्यालय काँग्रेस कोटामा प्रा.यज्ञराज पाठक रजिष्ट्रार छन् । यस अघि विज्ञान तथा प्रविधि संकायका डीन डा। भवानी चन्द ठकुरी, व्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशी, मानविकी तथा सामाजिक शास्त्रका डीन प्रा.डा.मुकुन्द बल्लव कलौनी छन् । उनीहरु पनि दलीय भागबण्डामा नियुक्त गरिएका हुन्।
अहिले विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्रा.डा.पूर्ण बहादुर चन्द छन् । विज्ञान क्याम्पस छाडेर आएपछि उनी विज्ञान संकायको डीन हुँदै सेवा आयोग पुगेका हुन्। उनी विज्ञान क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजनका विरोधी हुन्। एमाले कोटाबाट उनी अध्यक्ष भएका हुन्। सेवा आयोग सदस्मा प्रा. पदमकान्त जोशी छन्। विश्वविद्यालयको परीक्षा नियन्त्रकमा देब सिह नाथ छन्। सह नियन्त्रक भाट सहायक डीन भएपछि अहिले पद खाली छ । नाथ एमाले कोटाबाट नियन्त्रण भएका हुन् ।विश्वविद्यालयको कृषि विज्ञान संकाय डीनमा प्रा. डा लाल प्रसाद अमगाई छन् । उनी माओवादी कोटाका हुन् । विश्वविद्यालयका उपकूलपति प्रा.डा. जोशीको अध्यक्षताको कार्यकारी परिषद्ले पदाधिकारी नियुक्ति गरेको हो । परिषद्मा कृषि विज्ञान प्रविधिका डीन प्रा.डा. अमगाई, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशर बहादुर कुँबर र शिक्षकमध्ये तोयराज भट्ट सदस्य छन् । रजिष्ट्रार यज्ञराज पाठक परिषद्का सदस्य सचिव छन् ।