धनगढी। हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग अझै सुचार भएको छैन। बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग अझै खुल्न नसकेको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका अनुसार लगातारको बाक्लो हिमपातका कारण अवरुद्ध बनेको राजमार्ग शनिवार बिहानसम्म खुल्न सकेको छैन् । राजमार्ग खुले नखुलेको बारेमा थप बुझ्ने प्रयास भैरहेको जनाएको छ। केही स्थानमा अवरुद्ध रहेको सडक खुलेको भए पनि बैतडीको खेड्पे, डडेल्धुराको साहुखर्क, हगुल्टे लगायतका ठाउँमा अवरुद्ध नै छ।
केही बेरमा फेरी हिउँ पन्छाउने काम सुरु गरिने बताइएको छ।त्यस्तै, हिमपातकै कारण अवरुद्ध भएको डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा हिउँ पन्छाइएको भए पनि ढुंगा खस्दा फेरी अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ। ढुंगा हटाउन डोजर गइरहेको र केही बेरमै उक्त राजमार्ग सञ्चालनमा आउने बताइएको छ।


