कैलाली । सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने गरी २ पुलको काम अन्तिम चरणमा पुगेको छ । कर्णाली नदीमा घाटगाउँ–चिप्ले तथा वारि कुइने र पारि कुइने जोड्ने गरी पुल निर्माण धमाधम भइरहेको हो ।
कैलालीको मोहन्याल र सुर्खेतको चौकुने जोड्ने पुल निर्माणको झन्डै ९० प्रतिशत काम सकिएको छ । दुवै पुल चैतदेखि जेठभित्र हस्तान्तरण गर्ने गरी काम भइरहेको अनकरलुम्बिनी जेभीका इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए । उनका अनुसार २०७२ पुल निर्माणको सम्झौता गरिएको थियो । ‘२ वर्ष त यसको डिजाइन पास हुन समय लाग्यो,’ उनले भने, ‘४ वर्षे योजना भए पनि डिजाइन पास नहुँदा र कोरोनाका कारण ६ वर्ष लागेको हो ।’
करिब ३२ करोड रुपैयाँ लागतमा बन्न लागेको पुल ३ सय मिटर लामो छ । त्यस्तै अनकरलुम्बिनी जेभीले नै २०७४ मंसिरमा सम्झौता गरेको घाटगाउँ–चिप्ले पुलको पनि झन्डै ६० प्रतिशत काम सकिएको छ । करिब ६२ करोड रुपैयाँमा सम्झौता गरिएको उक्त पुल ५ सय ५० मिटर लामो छ । जेठ मसान्तसम्म पुल निर्माणको काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ ।कर्णाली नदीमा २ ठूला पुल बन्ने भएपछि स्थानीयले धेरै सपना बुन्न थालेको स्थानीय समाजसेवी काशीराम देवकोटाले बताए । ‘वर्षाको भेलमा फेरी तर्ने र ज्यान नै जोखिम पार्नुपर्ने बाध्यताको अब अन्त्य हुनेछ,’ उनले भने, ‘पुलले आर्थिक कारोबार पनि बढ्ने हाम्रो अपेक्षा छ ।
उनका अनुसार पुल बनेपछि पञ्चपुरी नगरपालिकास्थित कौसेनी घाट र चौकुने गाउँपालिकास्थित बेलगौडाको सम्बन्ध पनि जोडिनेछ ।पुल निर्माणपछि भेरी र कर्णाली नदी किनारका बासिन्दाको जनजीवन सहज हुने पञ्चपुरी नगरपालिका–१० का महेन्द्र राजीले बताए । ‘अहिले गाउँका अधिकांश युवाहरू मजदुरी गर्न भारत जान बाध्य छन्,’ उनले भने, ‘सडक र पुलले गाउँ जोडिएपछि रोजगारी पनि मिल्ने आशा छ ।’ पुल र सडक अनुगमनमा पुगेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले तोकिएको समयमा पुल निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनका अनुसार पुलले कैलाली, सुर्खेत र डोटीको सम्बन्ध विस्तारमा सहयोग पुर्याउनेछ ।
कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढामगरले बन्दै गरेका पुलले कर्णाली र सुदूरपश्चिमलाई आर्थिक समृद्धिसँग जोड्ने बताइन् । ‘अब सुर्खेतबाट कोहलपुर हुँदै कैलाली जानुपर्ने बाध्यता हट्नेछ,’ उनने भनिन्, ‘पुल निर्माणपछि २ प्रदेशका बासिन्दाको सम्बन्ध पनि जोडिनेछ ।’ पुल बने सुर्खेतको वीरेन्द्रनगरबाट कैलालीको चिसापानीको दूरी ७५ किलोमिटरमा सीमित हुने पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले बताए । अहिले सुर्खेतबाट बाँकेको कोहलपुरसम्मको दूरी ८६ किलोमिटर छ । ‘पुल बनेपछि भारतीय तीर्थयात्रीलाई कैलाश–मावसरोवर जान पनि बाटो छोटिन्छ,’ उनले भने, ‘कर्णाली र सुदूरपश्चिमका ५ जिल्ला एकआपसमा जोडिनेछन् ।’कान्तीपुरबाट

