कैलाली। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भारी हिमपात तथा वर्षा भइरहेको छ। सुदूरपश्चिममा बिहानदेखि वर्षा सुरु भएसँगै पहाडी जिल्लामा बिहीबार दिउँसोबाट हिमपात भइरहेको हो।
‘बिहानबाट निरन्तर वर्षा र दिउँसोबाट भारी हिउँ पर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।यता कैलाली र कञ्चनपुरमा पनि वर्षा जारी छ।बैतडीमा तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो साता र गत पुसमा पनि हिमपात भएको थियो ।बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहीमाडौं, सिगास, मेलौलीलगायत क्षेत्रमा बिहीबार हिमपात भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे क्षेत्रमा भारी हिमपात भएपछि राजमार्ग अवरुद्ध भएको छ। तत्काल सञ्चालनको सम्भावना नरहेको प्रहरीको भनाई छ। उता बझाङको देउलेक क्षेत्रमा पनि भारी हिमपात भइरहेको छ। हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।राजमार्गको ढोल्यामोड क्षेत्रमा बाक्लो हिमपात भएकाले राजमार्ग ठप्प भएको छ र खुलाउने प्रयास भइरहेको छ ।’
हिमपातले यहाँको जनजीवन पनि प्रभावित भएको छ। हिमपातले चिसो बढाएकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले बताए । डोटीको बोगटान फुड्सिल गाउँपालिका -४ का स्थानीय देवबहादुर बोहराले भने, ‘चिसोले भन्दा पनि यहाँका स्थानीयलाई सबैभन्दा बढी गाईबस्तु, भेडा बाख्राका लागि आहाराको जोहो गर्न समस्या भएको छ। बाक्लो हिउँ परेपछि घरबाहिर सहजै निस्कन सकिने अवस्था छैन।’सतबाँझ क्षेत्रको हिमपातले महाकाली र खोडपे, अनारखोली क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग पनि अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।


