धनगढी। धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ। नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले धनगढी बजार क्षेत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरेका हुन्।
नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी बृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि प्रदर्शन गरिरहेका छन्। तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज गर, देउवा सरकार मुद्र्धावाद’, ‘मापसे सरकार मुद्र्धावाद’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारावाजी गरेका थिए। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ। मूल्यवृद्धिसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गम्भीर नभए अनेरास्ववियू र राष्ट्रिय युवा संघ सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ ।


