कैलाली । सहिद दिवसको अवसरमा आज आइतबार नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिका वडा न–६ वडा कार्यसमितिद्वारा सहिदको सम्झनामा दीप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण गर्दै सहिद दिवस मनाइएको छ ।
नेपाली काङ्ग्रेस गौरीगंगा नगर वडा न–६ का वडा सभापति टेकबहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) प्रमुख अतिथि रहेका थिए। सो कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा)ले सहिद प्रतिको सच्चा सम्मानका लागि सहिदले देखाएको बाटो पछ्याउनु पर्ने बताए ।
‘देश र जनताका सपना साकार पार्न आफ्नो प्राणको आहुति दिने सम्पूर्ण सहिदको सम्मान र उहाँहरू प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न जनताको सेवाका लागि भनेर कटिबद्ध हामी आम पार्टीले अहिलेको मौलाउँदो अनियमितताको अन्त्यका साथै र अस्ताउँदो नेपाली राजनीतिक संस्कारलाई फेरी ब्युँताएर जनताले अनुभूत गर्ने गरी काम गर्न आवश्यक छ।’ प्रमुख अतिथिको आसनबाट बोल्दै डोटेली कान्छाले भने, ‘अहिले जनताको घरदैलामा पुगेको स्थानीय सरकारलाई थप क्रियाशील बनाएर हामी अघि बढ्नुपर्छ ।
विकास निर्माणका नाममा अब आनाकानी गर्ने छुट हामी कसैसँग छैन ।’नेपाली काङ्ग्रेस क्षेत्र न–४ का निबर्तमान क्षेत्रीय सभापतिदिनेशराज जोशी, महाधिवेशन प्रतिनिधि कमला शर्मा, नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल विक्रम चन्द, नेपाली काङ्ग्रेस डोटीका पूर्व जिल्ला सचिव एकम छेडाल लगायतले श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना साकार पार्न जनतालाई लोकतन्त्रको अनुभूति दिलाउन वडा वडा बस्ती बस्तीबाट सबैले लाग्नुपर्ने बताएका थिए । नेपाली काङ्ग्रेसका निबर्तमान क्षेत्रीय सदस्य पुरन सिंह कडायतले स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको सञ्चालन क्षेत्र ४ ‘क’ का सह सचिव भरत कुँवरले गरेका थिए।

