कैलाली। सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन सकिएको चार महिना पुगे पनि हिउँदे अधिवेशन सञ्चालनको अझै सुरसार गरिएको छैन् ।
आठौं अर्थात बर्खे अधिवेशन सकिएको चार महिना पुगेको छ। तर पनि हिँउदे अधिवेशन सञ्चालनको सुरसार नगरिएको पाइएको हो। अधिवेशनको मिति अझै टुङ्गो लाग्न नसकेपछि प्रदेश सभाको ढोका चार महिनादेखि बन्द छ।
प्रदेश सभा लामो समयसम्म बन्द रहेपछि एक वर्ष पुराना विधेयक अझै विचाराधीन अवस्थामा समितिमै छन्।अधिवेशन सञ्चालन नहुँदा सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त मात्रामा विजनेश दिन सकेको छैन। भने सुदूरपश्चिम प्रदेश सरकारले बनाएका महत्वपूर्ण ऐन, कानून, सुशासन ऐन, स्वरोजगार कोष सम्बन्धी विधेयक, लोक सेवा सम्बन्धी विधेयक अगाडी बढ्न सकेको छैन् । अहिलेसम्म प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालनको कुनै टुङ्गो नलागेको सभामुख अर्जुनबहादुर थापाले बताए।
आठौं अधिवेशन असोज १५ गते सकिएको थियो। एउटा अधिवेशन सकिएको छ महिनाभित्र अनिवार्य रुपमा अर्को अधिवेशन सुरु गर्नु पर्ने संवैधानिक प्रावधान रहेको छ। संविधानले निर्दिष्ट गरेको प्रावधान अनुसार अझै दुई महिना प्रदेश सभाको अधिवेशन सुरु नगरे पनि हुनेछ। तर, जनताको कानून बनाउनका लागि स्थापित संस्थाको ढोका लामो समयसम्म बन्द रहन नहुने कतिपयको तर्क रहँदै आएको छ।विगत वर्षहरुमा पनि बर्खे अधिवेशन सकिएको लामो समयसम्म हिउँदे अधिवेशन सञ्चालन हुन सकेको थिएन। नेपाली काङ्ग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकारले संसद्लाई सक्रिय बनाउन आवश्यक रहेको बताए । २०७४ माघ ७ गते स्थापना भएको सुदूरपश्चिम प्रदेश सभाले चार वर्ष पूरा गरिसकेको छ। पाँचौ वर्षमा प्रवेश गरिसकेको यो सभाबाट हालसम्म ५६ वटा कानूनहरु बनेका छन्।


