काठमाडौं। आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ।
‘सम्भवतः समय मिल्यो भने आजै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई भेट्नुहुनेछ,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘आयोगले पटक–पटक सरकारको ध्यानाकर्षण गरिसकेको छ, जनप्रतिनिधिहरूको कार्यकाल सकिनु पूर्व नै स्थानीय तहको चुनाव हुनुपर्छ र त्यसका लागि तत्कालै मिति तोकिनुपर्छ ।’ निर्वाचन आयोगले यसअघि वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो ।
त्यसपछि जारी विज्ञप्तिमा १२० दिन अगावै मिति तोकिनुपर्ने भन्दै वैशाखभित्रै गर्ने गरी मिति तोक्न भनिएको छ । तर, सत्तापक्षमा रहेका गठबन्धन दलहरू भने स्थानीय तहको चुनाव अर्को हिउँदमा गर्ने गरी पछि सार्ने प्रयासमा लागेका छन् । विपक्षी नेकपा एमाले निर्वाचन आयोगले तोकेकै समयमा चुनाव हुनुपर्ने पक्षमा छ भने नेपाली काँग्रेसको शेखर कोइराला पक्ष पनि वैशाखमै चुनाव हुनुपर्ने पक्षमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने चर्को दबाबमा छन् । तर, उनलाई गठबन्धन दलका नेता प्रचण्ड, माधव नेपाल लगायतले स्थानीय चुनाव वैशाखमा नगर्न दबाब दिइरहेका छन् ।