काठमाडौं। नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो।
विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको छ।
विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक ६ महिनाभित्र आउनेछ। विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो।
कुन प्रदेशमा कति? –मधेश प्रदेश सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनको छ। प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ। त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या रहने प्रदेश बनेको छ। तथ्यांकअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ पुगेको छ। यसअघि २०६८ सालमा गरिएको जनगणनामा वाग्मतीको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ थियो।विभागका अनुसार प्रदेश १ को जनसंख्या ४९७२०२१ रहेको छ। त्यस्तै गण्डकी प्रदेशको २४७९७४५ रहँदा लुम्बिनीको ५१२४२२५ रहेको विभागले जनाएको छ। कर्णालीमा १६९४८८९ जनसंख्या रहँदा सुदूरपश्चिममा २७११२७० रहेको छ।
पुरुष भन्दा महिलाको संख्या ६ लाख बढी
जनगणनाको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको छ। बुधबार केन्द्रीय तथ्याक विभागले जारी गरेको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको हो।
विभागका अनुसार नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ। नेपालमा पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ रहेको विभागले जनाएको छ। नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८ पछिको सबैभन्दा न्यून हो।
नार्पाभूमि गाउँपालिकाको जनसंख्या सबैभन्दा कम, बैजनाथपुरको सबैभन्दा धेरै
मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम जनसंख्या हुने गाउँपालिका भएको छ। नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ मात्र रहेको छ। त्यस्तै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ। बैजनाथपुरमा ७० हजार ३ सय १५ रहेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिकाहरूमा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन्। त्यस्तै रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका हुन् ।विभागका अनुसार १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या १० रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकाको संख्या १५ रहेको छ।
काठमाडौं सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला
काठमाडौं जिल्ला नेपालका ७७ वटै जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा परेको छ। नेपालको जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ। धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरूमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।
जनसंख्या धेरै र थोरै भएका ५ नगरपालिका
सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका रहेका छन्। त्यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ।
धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ। २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको तथ्यांक विभागले जनाएको छ।