धनगढी। राष्ट्रिय सभा सदस्यको १९ रिक्त पद चयनका लागि आज मतदान हुँदैछ। निर्वाचनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेद्वार चुनावी मैदानमा छन्। रिक्त पदका लागि सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यता सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका तीन जना राष्ट्रियसभा सदस्यकालागि आज मतदान हुँदैछ । राष्ट्रियसभा सदस्यकालागि सुदूरपश्चिम प्रदेशसभाको परिसरमा मतदानकालागि आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका लागि प्रदेशसभा परिसरमा दुई वटा मतदान केन्द्र निर्धारण गरेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। ५२ जना प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’ नामाकरण गरेर सोही अनुसार व्यवस्थापन गरिसकेको र स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष गरेर १७५ जनाकालागि मतदान स्थल ‘ख’ निर्धारण गरिसकेको भट्टले जानकारी दिए।’ मतदानमा सहभागि हुनका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीय तहका जनप्रतिनिधिहरु धनगढी पुगिसकेका छन्।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनको तर्फबाट खुल्लामा नेपाली कांग्रेसका नारायण मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादी पार्टीकी गरिमा शाह उम्मेदवार छन्। नेकपा एमालेले खुल्लामा डिल्लीराज भट्ट, दलितमा नरेश बिक र महिलामा सन्तोष कुमारी शर्मा थापालाई उम्मेदवार बनाएको छ। ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् । ८८ वटा स्थानीय तहका १७५ मतदाता रहेकोमा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षको १८ मतभार छ ।
प्रदेश १ मा तीन पदको लागि आठ जना चुनावी प्रतिस्पर्धामा छन्। गठबन्धन नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाट तीन, नेकपा (एमाले)बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना उम्मेद्वार छन्। राष्ट्रियसभा सदस्यको अन्यतर्फ गठबन्धनबाट कांग्रेसका गोपाल बस्नेत, एमालेका गुरु बराल र राप्रपाका अम्बरबहादुर विष्ट तथा महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई, एमालेकी सुमित्रा भण्डारी र राप्रपाकी रन्जु प्याकुरेलको मनोनयन परेको छ। अल्पसंख्यकतर्फ गठबन्धनबाट जसपाका हेमराज राई थुलुङ र एमालेका सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्वारी दिएका छन्। प्रदेश १ मा बढी मतदाता रहेका छन् । प्रदेश १ मा प्रदेश सभाका ९२ र स्थानीय तहका २७२ जना गरी ३६४ जनाले मतदान गर्ने छन् ।
त्यस्तै, प्रदेश २ मा दुई पदका लागि ४ दलबाट ५ जनाको उम्मेद्वारी परेको छ। गठबन्धनबाट माओवादी केन्द्र र जसपाका १/१ जना तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)र एमालेबाट २र२ जनाले उम्मेद्वारी दर्ता गराएका हुन्। गठबन्धनबाट महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल चुनावी मैदानमा छिन्। यस्तै, जसपाबाट अन्यतर्फ मोहम्मद खालिद सिद्धिकी उम्मेद्वार हुन्। लोसपाबाट महिलातर्फ रूपा यादवले उम्मेद्वार हुन्। एमालेबाट महिलातर्फ बिना देवी साह र अन्यतर्फ उस्मान अन्सारी चुनावी मैदानमा छन्। प्रदेश २ मा प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।
त्यसैगरी, वाग्मती प्रदेशमा ६ जनाको उम्मेद्वारी परेको छ। दुई जना सदस्यको लागि हुने निर्वाचनका लागि ६ जनाले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ता गर्नेमा एमालेबाट महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर र अन्यतर्फ ललितपुरका गोपाल शाक्य छन्। त्यस्तै, गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमा तिमिल्सिनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टीबाट अन्यतर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले पनि उम्मेद्वारी दिएका छन्।वागमती प्रदेशमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ जना गरी ३४६ जनाले मतदान गर्नेछन् ।
लुम्बिनी प्रदेशमा तीन पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। गठबन्धनबाट कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका ३ जना र एमालेका तीन जनाको उम्मेद्वारी परेको हो। गठबन्धनबाट अन्यतर्फ कांग्रेसका युवराज शर्मा, महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्र लक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा चुनावी मैदानमा छन्। एमालेबाट दलिततर्फ कृष्ण सुनार, महिलातर्फ भारती उपाध्याय खनाल र अन्यतर्फ रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन्।लुम्बिनी प्रदेशमा प्रदेश सभाका ८१ र स्थानीय तहका २१५ जना गरी २९६ जनाले मतदान गर्ने छन् ।
यस्तै, गण्डकी प्रदेशमा तीन पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये तीन एमालेका, दुई माओवादी केन्द्र र कांग्रेसका एक जना छन्। निर्वाचनका लागि एमालेबाट दलिततर्फ अर्जुन कुमार सुनाम, अन्यतर्फ पुण्यप्रसाद पौडेल र महिलातर्फ लीला थनेतले उम्मेद्वारी दर्ता गराएका छन्। गठबन्धनबाट दुई सिटमा माओवादी र एक सिटमा कांग्रेसले उम्मेद्वारी दिएका छन्। माओवादीका सुरेश आलेमगर अन्यतर्फ र भुवन सुनार दलिततर्फ उम्मेद्वार छन्। त्यस्तै, कांग्रेसबाट महिलातर्फ कमला पन्त उम्मेद्वार छिन्।
यसैगरी, कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाको चुनावी मैदानमा छन्। जसमा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) का ३ र एमालेका ३ जना छन्। गठबन्धनबाट अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट, महिलातर्फ कांग्रेसका दुर्गाकुमारी गुरुङ र अन्यतर्फ एकीकृत समाजवादीका उदयबहादुर बोहोराले उम्मेद्वारी दर्ता गराएका हुन्। यस्तै, एमालेबाट अन्यतर्फ चुडामणि शर्मा, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ पदमबहादुर माझी र महिलातर्फ गंगा थापा महतले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा रोजेन्द्रकुमार आचार्यले जानकारी दिए। आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।यहाँ प्रदेशसभाका ३५ र स्थानीय तहका १५६ जना गरी १९१ जनाले मतदान गर्नेछन् ।