धनगढी। धनगढीमा निर्माण सामाग्री बोक्ने सवारी साधनले स्थानीयलाई सास्ती भएको छ। धनगढीका मेनरोड तथा साखा सडक भएर नदीजन्य निर्माण सामाग्री बोकेर दैनिक ओहर-दोहर गरिरहने ट्याक्टर, ट्रक तथा ट्रिपरले सडक छेउछाउका बासिन्दा तथा स्थानीयलाई निकै सास्ती भैरहेको हो।
एकातिर दिनहुँ सयौं ट्रक, ट्याक्टर र ट्रिपर हिँंडेर सडकमा खाल्डाखुल्डी परेर हिँडडुल गर्न कठिन बनाएको हुन्छ भने गड्याङगुडुङ आवाजले स्थानियलाई हैरान बनाएको छ।यस्तो समस्या बढी भैरहेको छ धनगढी- खुटिया, सेहरी–धनगढी र पथरी–धनगढी क्षेत्रमा । निजी आवासदेखि ठूला ठूला सार्वजनिक आयोजना निर्माण गराउने सडक कच्ची हुँदा यी सडक छेउछाउका बासिन्दाले निकै सास्ती भोगिरहेको स्थानीय रामबहादुर रानाले बताए।
उनले भने, धनगढी- खुटिया–धनगढी, सेहरी–धनगढी र पथरी–धनगढी सडक दिनभरि व्यस्त हुन्छन्। ती सडकमा खुटिया र शिवगंगा नदीबाट ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्याक्टर र ट्रिपरको लाइन बिहान ४ बजेदेखि रातिसम्म हुन्छ। असार, साउन र भदौमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न नपाइने सरकारी नियमका कारणमात्रै फुर्सदिला हुन्छन्, उनले भने। असोजदेखि जेठ मसान्तसम्म नदीबाट निर्माण सामग्री बोकिरहने यी सडक वर्षौंदेखि कच्ची छन्। सडकमा खाल्डाखुल्डी परेर हिँडडुल गर्न कठिन बनाएको हुन्छ भने ट्याक्टर र ट्रिपरले उडाएको धुलोले घर, खेत, बारी सबै धुलो माटोले छपक्क ढाकिदिन्छ,उनले भने। स्थानीय रानाले भने, धुलोले तरकारी उत्पादन गर्न र घर सफा राख्न सकिएको छैन् । उनले छिट्टै सडक कालोपत्रे भइदिए सडक छेउका बासिन्दालाई राहत पुग्ने बताए ।
सडक निर्माण गर्ने जिम्मेवारी कसको ?
खुटिया–धनगढी सडक धनगढी–दिपायल द्रुतमार्गमा परेको हुनाले चालू आर्थिक वर्षदेखि पिच गर्नका लागि संरचना निर्माण भइरहेको छ । पथरी–धनगढी सडक धनगढी–बेहडा बाबा कृषि सडकको चरणबद्ध रूपमा कालोपत्रे भइरहेको छ । तर सेहरी–धनगढी सडक कसले निर्माण गर्ने भन्ने टुंगो छैन । गोदावरी नगरपालिका–९ का वडाध्यक्ष लहनु चौधरीले गोदावरी नगरपालिका र वडा नम्बर ९ को क्षेत्राधिकारभित्र नपरेको हुनाले नगरपालिकाले कालोपत्रे गर्न नसक्ने बताउँछन् । उनले सो सडक धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सीमानामा समेत जोड्ने भएकाले प्रदेश वा संघ सरकारले निर्माण गर्नुपर्ने बताउँछन् । वडाध्यक्ष चौधरीका अनुसार २०७४ मा संघीय सरकारको सघन सहरी विकास कार्यक्रमले पानी पिच गरेको थियो। त्यसपछि सो सडकमा कुनै पनि योजना परेका छैनन् ।
उनले गोदावरी नगरपालिकाले सेहरी–बेला, धनचौरी–देवहरिया र धनचौरी–जाली सडकलाई प्रत्येक वर्ष प्रदेश र संघ सरकारलाई निर्माण गर्नका लागि सिफारिस गर्ने गरेको भए पनि योजनामा पर्न नसकेको बताए । धनगढी उपमहानगरपालिका–११ का वडाध्यक्ष गंगाराम रानाले धनगढी उपमहानगरपालिकाको क्षेत्रमा पर्नेसम्मको सडक वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले खाल्डाखुल्डी व्यवस्थापन गर्दै आएको बताए । उनले बेलादेखि सेहरीसम्मको सडक बढी जस्तो गोदावरी नगरपालिकाभित्र पर्ने र जंगल क्षेत्र रहेकाले गोदावरी नगरपालिकाले नै बनाउनुपर्ने बताए । सेहरी–धनगढी सडक निर्माण गर्नका लागि न स्थानीय सरकार, न त प्रदेश र संघ सरकारले निर्माण गर्न चासो देखाएका छन् । सोही सडकबाट सधैंभरि ढुंगा, गिट्टी, बालुवा बोक्न व्यवसायीले निर्माणका लागि पहल गरेका छैनन् । स्थानीय सिताराम चौधरीले सरकार र ट्याक्टर तथा ट्रिपर व्यवसायीले पहल गरेमा सजिलै सो सडक कालोपत्रे हुन सक्ने बताउँछन् ।