कैलाली। आगामी १२ गते सुदूरपश्चिमसहित ७ वटै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभाको निर्वाचन हुन ४ दिन मात्रै बाँकी रहदा सुदुरपश्चिममा भने एमाले एक्लै निर्वाचनमा होमिएको छ भने अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनकालागी एमालेले महिलातर्फ कैलालीकि सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टलाई उम्मेदवार बनाइएको छ । भने गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक/एक जना उम्मेदवार रहेका छन्।
यस्तै नेपाली काँग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले उम्मेदवारी दर्ता गरेकी छन्। सुदुरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन्। प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका ११,राष्ट्रिय जनता पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टीको एक जना प्रदेशसभा सदस्य छन्।
मतभार अनुसार प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा बलियो छ। यहाँ एकीकृत समाजवादीको मतभार ६७२ छ । त्यस्तै माओवादी केन्द्रको ६२४, नेपाली काँग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८/४८ मतभार छ । प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको काँग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ। १७५ मतदातामध्ये सुदूरपश्चिममा काँग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् । स्थानीय तहको काँग्रेसको सबैभन्दा धेरै मतभार छ।काँग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ ।
माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ । स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा काँग्रेस सबैभन्दा बलियो छ। काँग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ । त्यस्तै एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ। यस्तै यता सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका एकजना मात्रै सांसद रहेका लोसपाका सांसद कृष्ण चौधरीले राष्ट्रियसभा निर्वाचनमा कसलाई मतदान गर्लान् भन्ने यकिन भइसकेको छैन् । सो पार्टीले राष्ट्रिय सभामा उम्मेदवार उठाएको छैन । यसअघि मधेस प्रदेशमा एमाले र लोसपाबिच गठबन्धन भइसकेकोमा सुदूरपश्चिम प्रदेशमा भने लोसपासँग कसले गठबन्धन गर्ने भन्नेबारे छलफल सुरु नभएको जनाइएको छ।