धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गा नपाएकै कारणले प्रदेशको राजधानी निमार्णको कार्य जग्गा नपाएकै कारण अघि बढ्न नसकेको बताएका छन् । शुक्रवार प्रदेश सभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै मुख्य मन्त्री भट्टले जग्गा नपाएकै कारणले मात्रै राजधानी निमार्णको कार्य रोकिएको बताएका हुन्।
मुख्य मन्त्री भट्टले भने, ‘मान्छेले भन्न सक्छन् किन अहिले सम्म भएन ? के कारणले रोकियो । तर म भन्न चाहन्छु अहिले सम्म जग्गा नपाएकै कारणले मात्रै राजधानी निमार्णका कार्य रोकिएको हो ।’ २०७५ सालमा प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को तेघरी क्षेत्रमा राख्ने निर्णय गरिएको थियो । राजधानी घोषणा भएको तीन वर्ष बढी भइसक्दा पनि प्रदेश सरकारले कुनै पनि कार्य अगाडि बढाउन नसक्दा चौतर्फी समेत विरोध हुने गरेको छ । तर मुख्यमन्त्री भट्टले भने प्रदेश सरकारले विधि प्रक्रिया सबै प¥याउदा पनि सङ्घीय सरकारले जग्गा नदिँदा सम्म काम गर्न नसकेको बताएका हुन्।
यो चार वर्षको अवधिमा थुर्पै सङ्घर्ष गर्नुपरेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले नेपालको सिस्टमको परिवर्तन हुन आवश्यक रहेको बताए । ‘एउटा मन्त्री, सङ्घीय सरकारको प्रधानमन्त्रीले मात्रै तीव्र गतिमा जान चाहेर मात्रै हुँदो रहेनछन् भन्ने कुरा हामीले महसुस गरेका छौँ । राजनीतिक परिवर्तन, व्यवस्था परिवर्तनले मात्रै हुँदैन् । हाम्रो देशको सिस्टम, प्रशासनिक सिस्टममा परिवर्तन र ,रूपान्तर हुनुपर्ने अहिलेको आवश्यकता हामीले महसुस गरेका छौँ,’ उनले भने । कुनै एक प्रशासकीय प्रमुखले दिनमा कति काम गर्नुपर्ने हो त्यसको कुनै मूल्यांकननै नभएको र सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन नसक्दा थुप्रै समस्याहरु भोग्नुपरेको बताए। ‘आज कुनै एक मान्छे अथवा कुनै एक प्रशासकीय प्रमुखले दिन भरि कति काम गर्नुपर्छ, त्यसको कुनै मूल्यांकन छैन, बढी गर्नेको कुनै इज्जत पनि छैन र नगर्नेको पनि कुनै सजाय छैन,’ उनले भने, यस्तो सिस्टमले देशको विकास अगाडि हुन सक्दैँन् ।’ उनले अहिले सम्म प्रदेशको अधिकार नहुँदा प्रहरी समायोजन, प्रदेशमा लोकसेवा आयोग सुचारु गर्न नसकिएको बताए ।