धनगढी। धनगढी उप-महानगरपालिका २ स्थित एक मोबाईल ग्यालरीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको सादा पोषाकको प्रहरी टोलीले धनगढी २ स्थित ट्राफिक चोकबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी–५ बस्ने पसल सञ्चालक ३० बर्षीय दोर्ण बहादुर रावल, धनगढी २ बस्ने २९ बर्षीय टेक बिष्ट र धनगढी वडा नम्बर ४ बस्ने ३० बर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दोर्ण बहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाईल ग्यालरीको भित्र कोठामा लागुऔषध (खैरो हिरोईन) कारोबार भइरहेको भन्ने सुचनाको आधारमा उक्त मोबाईल ग्यालरीको भित्र कोठामा गई चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन्। बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको र उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।