धनगढी। सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको माघ ७ गते चार वर्ष पूरा भई पाँचौ वर्षमा प्रवेश गर्न लागेको छ। प्रदेश सभाले यही माघ ७ गते पाँचौँ स्थापना दिवश मनाउँदैछ।
प्रदेश सभा गठन भएको पाँचौँ वर्ष प्रवेशको अवसरमा बुधबार धनगढीमा गरिएको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाले चार वर्षको अवधिमा प्रदेश सभाबाट ५६ विधेयक पारित गरेको जनाएको छ। प्रदेश सरकारले संसदमा दर्ता गरेका ६० मध्ये ५६ वटा विधेयक पारित भएर प्रमाणीकरण भएका छन् । चार वटा विधेयक संसदमा विचाराधीन अवस्थामा छन् ।
सभामुख अर्जुनबहादुर थापाले प्रदेश संसदको चार वर्षको अवधीमा दुई सय ३० वटा बैठक बसेका जानकारी दिए । संसदीय समितिका बैठकहरु पनि नियमित रुपमा भइरहेको बताए । कार्य व्यवस्था परामर्श समितिका बैठक ९१ पटक, विधायन तथा प्रदेश मामिला समितिका बैठक ९० पटक, सार्वजनिक लेखा समितिका एक सय दुई पटक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको एक सय ३६ र सामाजिक विकास समितिको एक सय १८ पटक बैठक बसेको थापाले जानकारी दिए।संसदले जनतासँग प्रत्यक्ष सरोकारका कानुन बनाएको र सरकारलाई आवश्यक सुझाब, निर्देशन दिने काम पनि सरकारले गरेको उनले बताए । संसदका विषयगत समितिले विपद्पीडितलाई राहत दिन, विपद्को क्षति न्यूनिकरणको व्यवस्था गर्न, प्रदेश गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकारलाई दिएको उनले जानकारी दिए । खरिद प्रकृया पारदर्शी बनाउन, स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न, कोरोना संक्रमण नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन, सन्तुलित रुपमा बजेट विनियोजन गर्न, योजनाहरु समयमै सम्पन्न गर्न पनि विषयगत समितिले सरकारलाई निर्देशन दिएको प्रदेश सभाका उपलब्धी विवरणमा उल्लेख छ । संसदका गतिविधि आमनागरिकको पहुँचमा पु¥याउन संसद बैठकहरु युट्यूबबाट प्रत्यक्ष प्रसारणको व्यवस्था पनि गरिएको सभामुख थापाले बताए ।
कानुन निर्माणका क्रममा रायसुझाब संकलन गर्न जिल्लाहरुमा नागरिक तथा सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया पनि गर्ने गरिएको उनले बताए । कानुन निर्माणको प्रकृयाबारे नागरिकलाई जानकारी दिने, कानुन निर्माणमा नागरिकका चाँसो बुझ्ने र संसदको खुलापनलाई अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश सभाले जनतासँग सभामुख कार्यक्रम पनि सञ्चालन गर्दै आएको प्रदेश सभाले गरेका कार्यविवरणमा उल्लेख छ । उनले संसद, संसदीय समिति, दलका कार्यालयका लागि आवश्यक पूर्वाधारको व्यवस्था भएको बताए।