काठमाडौ। आसन्न राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो।
यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा छुट्टै बाकसको व्यवस्था गरी संक्रमितलाई मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए।स्वास्थ्य सुरक्षासम्बन्धी नियममा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिम बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, संक्रमित भएर आएका मतदातालाई छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायत विषय उल्लेख भएको सहायक प्रवक्ता धमालले जानकारी दिए।
यही माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ। यस निर्वाचनका लागि गाउँपालिका प्रमुख तथा उपप्रमुख र नगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता हुन्छन्। २०२५ जना मतदाता छन्। १९ पदका लागि विभिन्न दलबाट ४३ जनाको उम्मेदवारी परेको छ। मुख्यगरी सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।सत्तागठबन्धनले भागबन्डा गरी १९ पदका लागि उम्मेदवार उठाएका छन् भने एमालेले १९ जना नै उम्मेदवार उठाएको छ। आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ। कोरोना महामारी जोखिमबीच आयोगले स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गर्ने भएको छ।


