कैलाली। निर्वाचन आयोगले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ।
माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ। पुस २६ गतेदेखि अहिले निर्वाचन आचारसंहिता जारी छ । सुदूरपश्चिममा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुँदैछ ।
सुदूरपश्चिम प्रदेशसभाको प्राङ्गणमा मतदानस्थल तोकिएको छ । मतदानका लागि अन्तिम चरणमा पुगेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए । ‘तयारी अन्तिम चरणमा पुगेको छ । पर्सिसम्म काठमाडौंबाट मतपत्र आइपुग्नेछन्’, अधिकारी भट्टले भने। राष्ट्रियसभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जना उम्मेदवारी परेको छ।
राष्ट्रियसभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको तर्फ खुलामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले उम्मेदवारी दिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले उम्मेदवारी दिएका छन् ।
तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुनेछ । निर्वाचन आयोगले बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।प्रदेशको स्थायीमुकाम धनगढीमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि सुरक्षा निकायले आफ्नो तयारी अवस्थामा रहेको बताएको छ ।