कैलाली। यती बेला कैलाली–कञ्चनपुरका थारु समुदायमा भलमन्सा छान्ने चटारो सुरु भएको छ।
सुदूरपश्चिम प्रदेशको कैलाली–कञ्चनपुरका थारु समुदाय सांस्कृतिक पर्व माघी सकिएसँगै समुदायमा भलमन्सा छान्ने चटारो सुरु भएको हो। थारु समुदायले माघ महिनालाई नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । माघको पहिलो सातामा नयाँ नेतृत्व अर्थात वर्गघर(भलमन्सा), चौकीदार, बर्का गुरुवा (ठूलो) र कसौका गुरुवा (सानो) चयन गर्ने परम्परा चलिआएको छ।
अब आउने नयाँ नेतृत्वले गाउँलाई चलाउन सक्ने हुनुपर्छ । ‘भलमन्सा, चौकीदार प्रशासनिक क्षेत्र र सामाजलगायत धेरै क्षेत्रमा अब्बल भएको व्यक्ति आउनुपर्छ,’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँका बुद्धिराम चौधरीले भने, ‘यसमा नाताबाद, क्रिपाबाद हुनुहुँदैन। आउने नयाँ बर्षमा भलमन्सा भनेको नेतृत्व गर्न सक्ने हुनुपर्छ।’सबै ठाउँमा गएर बोल्न सक्ने, सबैका कुरालाई सम्बधित ठाउँसम्म पुराइदिन सक्ने व्यक्तिलाई नै भलमन्सा बनाउनु पर्ने सोही ठाउँका दिलबहादुर चौधरीले बताए । आउने नेतृृत्वले आउँदो माघीसम्म टोललगायत समुदायलाई चलाउनुपर्ने उनको भनाई छ।
यो गाउँमा बर्तामान भलमन्सा झरीलाल चौधरी पुनः भलमन्सामा चयन भएका छन् । उनी अहिले चौथो पटक जाली गाउँको भलमन्सामा नियुक्त भएका छन् । आफनो तीन पुस्तासमेतले भलमन्सा गर्दै आएको नवनियुक्त भलमन्सा झरीलाल चौधरीले बताए । ‘अहिलेसम्म राम्रो गरेको भन्दै गाउँका मान्छेले पुनः मलाई भलमन्सामा चुनेका छन्’उनले भने ।गाउँ टोलमा सबैलाई मिलाएर लैजाने र विकासकालागि आफू लागिपर्ने उनले जानकारी दिएका छन्।
गाउँमा रोग नआवस भनेर गाउँको चारै कुना (चार किल्ला)बन्धन गर्ने गरेको वडा नम्बर ६ का वडाध्यक्ष भागीराम चौधरीले बताए । बाहिरबाट टोल समुदायमा आक्रमण नहोस भनेर चारै तिर गुरुवा, भलमन्सा र चौकीदारलाई बार बनाउने गरेको उनले बताए । ‘विकासको लागि हामीहरु एक जना छनोट गर्छौँ उहाँको कुरा टोलमा सबै जनाले मानुन भनेर भलमन्सा बनाउने गरेका छौँ,’ उनले भने,। ‘विवाहको बेला होस वा मान्छेको मृत्युपछि उनीहरुको दाह संस्कारकालागि भलमन्सा, चौकीदारको ठूलो महत्व हुन्छ ।’