जनकपुरधाम। मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको नाम मधेस र राजधानी जनकपुर भएको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ।
सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो। विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ।
प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए। सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।
योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए। यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए।