धनगढी। गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीद्धारा ‘मोबाइल ब्लड बैङ्क बस’ हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपालीहरूको सहयोगमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई ‘मोबाइल ब्लड बैङ्क बस’ हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच ब्लड बैङ्क बस हस्तान्तरण गरेको हो ।नेपालमा गैर आवासीय नेपाली सङ्घका अध्यक्षसहित पदाधिकारीहरुले धनगढी उपमहानगरपालिकामार्फत प्रादेशिक रक्त सञ्चार सेवा नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको हो । एनआरएनएको सुदुर पश्चिम मोबाइल ब्लड बैंक बस एनआरएनए अध्यक्ष कुमार पन्तबाट धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई आज हस्तान्तरण गरिएको हो।
सो बसकालागि गैर आवासीय नेपालीहरूबाट ४८ लाख सहयोग सङ्कलन भएको थियो । बाँकी रकम आइसिसीको खाताबाट पछि बेहोर्ने गरी खरिद गरिएको एनआरएनएले जनाएको छ ।परियोजनाका लागि सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समिति, सुदूरपश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदूरपश्चिम समाजहरु अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिति युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लब अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिति लगायतले सहयोग पुर्याएका थिए । मोबाइल ब्लड बस सुदूरपश्चिमका सबै जिल्लाहरूमा आवश्यकता अनुसार सञ्चालन गरिनेछ । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको छ ।

