काठमाडौं। बतास समूहसँग भएको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्ध गर्न छानविन समितिले सुझाव दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित समितिले सो सुझाव प्रस्तुत गरेको हो ।
सोमबार मन्त्रालयमा छानविन प्रतिवेदन बुझाउँदै अध्ययन समितिले सम्झौता गर्ने कोषका कर्मचारीलाई कारवाही गर्न पनि सिफारिस गरेको छ । छानविन समितिले नेपाल भारत मैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति विना गरिएको देखिएको जनाएको छ । बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न एउटै मात्र फर्ममा सहभागी गराएकोले मिलेमतो भएको आशंका गरिएको छ ।
कोष र होटल आनन्द प्रालिबीच धर्मशाला भाडामा दिँदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पुर्याउने कर्मचारीलाई र अनाधिकृत सम्झौता कानूनसम्मत भनी छापा तथा विद्युतीय माध्यममा प्रवाह गर्ने पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारी समेतलाई कारवाही गर्न समितिले सुझाव दिएको छ।
यस्तै धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने करिव एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उलंघन गरेको भन्दै सम्झौता भङ्ग गर्न सुझाव दिइएको हो । मन्त्री आलेको निर्देशनमा गत पुस २३ गते छानविन समिति गठन गरिएको थियो । मन्त्री आलेलाई कोभिड संक्रमण भएका कारण छानविन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाइएको छ ।
हेर्नुहोस् छानबिन समितिले पेस गरेको प्रतिवेदन : प्रेस विज्ञप्ति
नेपाल भारत मैत्री पशुपति धर्मशाला कोषबाट भाडामा लगाउँदा गरेको सम्झौता नियम र प्रचलित कानुन बमोजिम भए नभएको सम्बन्धमा विस्तृत अध्ययन गर्न मिति २०७८ ९ २३ मा गठित छानविन समितिले तयार गरी माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेज्यूको निर्देशन बमोजिम मन्त्रालयमा पेश गरेको प्रतिवेदनको निष्कर्षका मुख्य अंशहरु
(१) नेपाल भारत मैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति विना गरिएको देखियो
(२) बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र Comply गर्ने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिदा मिलेमतो (collusion) भएको हुन सक्ने देखिएको
(३) कोष र होटल आनन्द प्रा.लि. बीच धर्मशाला भाडामा दिदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पून्याउने कर्मचारीलाई र अनाधिकृत सम्झौता कानुन सम्मत भनी छापा तथा विद्युतीय माध्यममा प्रभाह गर्ने तत्कालिन पदाधिकारी समेतलाई कारवाही गर्नु पर्ने देखिएको
(४) धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिव एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरु पालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ
नारायण प्रसाद सुवेदी
कोषाध्यक्ष एवं संयोजक नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बनधी छनविन समिति
मिति २०७८।१०।०३