कैलाली। राष्ट्रिय सभा निर्वाचनमा ‘वाम लोकतान्त्रिक गठबन्धन’का उम्मेदवारलाई जिताउन तीन सदस्यीय सयन्त्र गठन भएको छ। सोमबार धनगढीमा बसेको तीन दलीय गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको हो।
संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट नृपबहादुर वड र नेकपा माओवादी केन्द्रका तर्फबाट मानवहादुर धामी सदस्य रहेका छन् । बैठकमा सुदूरपश्चिम क्षेत्रबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरु मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र र जगतबहादुर पार्कीको उपस्थिति थियो। शाह नेकपा (एकीकृत समाजवादी), मिश्र नेपाली काँग्रेस, पार्की माओवादीका तर्फबाट उम्मेदवार छन्।
शाह महिला, मिश्र खुला तथा पार्की दलित तर्फका उम्मेदवार हुन्। बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर वलायर, माओवादीका नेता खगराज भट्ट, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही र जनता समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य मालामति राना लगायतको उपस्थिति थियो। राष्ट्रिय सभाको चुनाव माघ १२ गते धनगढीमा हुँदैछ। सो चुनावमा ८८ स्थानीय तहका १७५ जना प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका ५२ जनाले मतदान गर्नेछन् ।