काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन्।
यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए। सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए। बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ। भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ।
यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन्। धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए । उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाएका छन् । क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।


