काठमाण्डौँ। १३ करोड रुपैया राजस्व नतिरेर भाग्न लागेका क्यासिनो सञ्चालक कम्पनी एसएचएल म्यानेजमेण्ट प्राईभेट लिमिटेड कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत माईक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाईएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिईओ बोल्सोभरलाई शनिवार राति १० बजे बिमानस्थलबाटै नियन्त्रणमा लिएको बताईएको छ।
ओसिपी एसियाको लगानीमा सांग्रिला होटल लाजिम्पाट र भैरहवास्थित टाईगर प्यालेसमा सञ्चालित दुई वटा क्यासिनोले साढे छ करोड रुपैयाका दरले १३ करोड रुपैया पौष मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरेको थियो। राजस्व नबुझाएर भाग्दै गरेका क्यासिनो सञ्चालक कम्पनी एसएचएल म्यानेजमेण्ट प्राईभेट लिमिटेड कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत बोल्सोभरलाई देश छोड्न रोक लगाएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ। बोल्सोभर आज रातिको उडानबाट साउथ अमेरिका जादै थिए।
मन्त्री आलेको निर्देशनमा ८ वटा क्यासिनो कम्पनीले करीव ४० करोड रुपैया राजस्व दाखिला गरेका थिए। एसएचएल म्यानेजमेण्ट प्राईभेट लिमिटेडले भने १३ करोड रुपैया राजस्व बुझाएन। एसएचएल म्यानेजमेण्ट प्राईभेट लिमिटेडले तिलोत्तमा नगरपालिका ६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैर कानुनी ढंगले सचालन गरेको आरोप छ । सर्बोच्च अदालतले समेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो । सर्बोच्च आदेशको बिपरित क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिईओ राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन् ।