धनगढी। कैलालीको गोदावरी धाममा माघ स्नान गर्ने तिर्थालुको भीड लागेको छ। माघे सङ्क्रान्ति मनाउन आज बिहानैदेखि कैलालीको गोदावरीमा माघ स्नान गर्ने र पूजापाठ गर्ने भक्तजनहरुको लागेको हो।
बिहानैदेखि गोदावरी पुगेर भक्तजनहरुले पूजापाठसँगै स्नान गरेका हुन्। कोरोना संक्रमण बढेपनि गोदावरीमा आज बिहानैदेखि मानिसहरुको बाक्लो भीड लागेको छ । माघको पहिलो दिन अर्थात आज गोदावरीमा कैलाली,कञ्चनपुर सहित पहाडी जिल्लाहरुबाट ठुलो सँख्यामा श्रद्धालुहरु गोदावरीमा पुगेका छन।
बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ। हरेक ६ बर्षमा लाग्ने अर्ध कुम्भ मेला भने यो बर्ष कोरोना माहामारीको कारण स्थगित गरिएको छ ।

