धनगढी : नेकपा एमालेले केन्द्रिय महादिवेशनपछि जिल्ला अधिवेशन गरेको छ । सुदूरपश्चिमका ८ जिल्लामापनि एमालेको अधिवेशन सम्पन्न भइसकेको छ । एमाले जिल्ला अधिवेशनमा पुर्व माओवादी नेताको भने हरिबिजोग भएको छ । सुदूरपश्चिमका ३ जिल्लामा नेतृत्वका लागी चुनाव लडेका पुर्ब माओवादी नेताहरु पराजित भएका छन् ।
कैलाली, कञ्चनपुर र अछाममा पदाधिकारीमा पूर्वमाओवादी नेताहरु ‘क्लीन स्वीप’ भएका हुन् । सहमतीका आधारमा नेतृत्व चयन भएका जिल्लाहरुमापनि पुर्ब माओवादीका नेताहरुको प्रतिनिधित्व न्युन देखिन्छ । पुर्व माओवादीबाट एमालेमा लागेर केन्द्रिय सचिव निर्वाचित भई प्रदेश ईन्चार्जको समेत जिम्मा पाएका लेखराज भट्टलाई पुर्व माओवादी नेताहरु पराजित भएपछि ठुलो धक्का लागेको छ ।
एमाले कञ्चनपुरको अध्यक्षमा पूर्वमाओवादी नेता वीरबहादुर थापा ‘पातल’लाई हराउँदै सुरेन्द्र विष्ट प्यानलसहित विजयी भएका छन् । विष्ट दुई सय ८१ मत ल्याएर विजयी हुँदा थापाले एक सय ८३ मत पाए ।थापा नेकपा हुँदा र एमालेमा गएपछि पनि जिल्ला अध्यक्ष थिए । भट्टसँगै उनी एमालेमा गएका हुन् ।
सचिव एवं प्रदेश इन्चार्ज भट्टले थापालाई जिल्ला अध्यक्ष बनाउन चाहेका थिए । थापाको प्यानललाई एमाले बनेका पूर्वमाओवादी नेताहरुसँगै ओली पक्षकै केही नेताहरु र एमालेमा १० बुँदे सहमतिका पक्षधर नेताहरुको समर्थन थियो । एमाले अध्यक्ष केपी ओली निकट विष्टको प्यानललाई जिल्ला इन्चार्ज निरुदेवी पाल, सहइन्चार्ज नरबहादुर धामीलगायले साथ दिएका थिए ।
भट्टको गृहजिल्ला कैलालीमा पनि एमाले बनेका पूर्वमाओवादी नेताहरु पदाधिकारीमा पराजित भएका छन् । आफ्नो प्यानलबाट अध्यक्ष र उपाध्यक्षले जित्दा सचिवका उम्मेदवार दानबहादुर विक चित्रण र उपसचिवका उम्मेदवार प्रेमबहादुर डगौरा भने पराजित भए । अध्यक्षमा निर्वाचित रतनबहादुर थापाको प्यानललाई प्रदेश इन्चार्ज भट्ट तथा सहइन्चार्ज कर्ण थापाको समर्थन थियो । यही प्यानलबाट पदाधिकारीका उम्मेदार विक र डगौरा पराजित हुँदा भट्टका स्वकीय सचिव हितेश ओझासहित केही पूर्वमाओवादी नेताहरु भने जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
अछाममा पनि पूर्वमाओवादीबाट गएका एमाले नेताले पदाधिकारीमा हार व्यहोर्नु परेको छ । जिल्ला अध्यक्षमा चन्द्र बोहरा विजयी हुँदा उनकै प्यानलबाट सचिवमा उम्मेदवारी दिएका आदर्श साउद फराकिलो मतान्तरले पराजित भए । साउद प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराका स्वकीय सचिव थिए । प्रदेश इन्चार्ज भट्ट निकट बोहरा नेकपा विवाद हुँदा मन्त्री पदबाट राजिनामा दिएर ओली पक्षमा लागेका थिए ।
उनी अहिले अछामका जिल्ला इन्चार्ज छन् । अछाममा अध्यक्ष ओली र भीम रावल निकट दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । माओवादीबाट गएका एमाले नेताहरुले ओली प्यानलबाट उम्मेदवारी दिएका थिए । अध्यक्षमा हारे पनि पदाधिकारीमा रावल निकट प्यानलका उम्मेदवार विजयी भए ।
सहमति भएका ठाउँमा पनि पूर्वमाओवादीको प्रतिनिधित्व न्यून
एमाले अधिवेशन सम्पन्न भएका सुदूरपश्चिमका आठमध्ये चार जिल्लामा निर्वाचन भएको थियो । निर्वाचनमार्फत कमिटी गठन भएको दार्चुलामा भने माओवादीबाट गएकी एमाले नेतृ चन्द्रा कुँवर उपसचिवमा विजयी भएकी छन् । सहमतिका आधारमा नेतृत्व चयन भएका जिल्लामा पनि पदाधिकारीमा पूर्वमाओवादीको प्रतिनिधित्व निकै देखिएको छ ।
डोटीमा सहमतिमा जिल्ला कमिटी गठन हुँदा माओवादीबाट गएका नेताहरु पदाधिकारीमा समेटिएनन् । बाजुरामा माओवादीबाट आएका भरत बुढा, बैतडीमा रमिल बम र डडेल्धुरामा धनबहादुर धामीलाई एमालेले उपाध्यक्ष बनाएको छ । बझाङमा भने अधिवेशन हुन सकेको छैन ।