कैलाली। कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका ब्यक्तीको साथबाट लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ।
बुधबार धनगढी उपमहानगरपालिका-३ डि.के पेट्रोल पम्प नजिक सुपप्र ०१–००८ प ५१६० नम्बरको मोटरसाइकलले ना८ख ९०३७ नम्बरको ट्याङकरलाई पछाडिबाट ठक्कर दिएको थियो। ट्याङकर चालक कञ्चनपुरको वेदकोट नगरपालिका-७ का दीपक बोहरा सकुशल रहेको जनाइएको छ।
ठक्करपछि मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका- ५ का ४२ वर्षीय चन्द्रदेव चौधरी घाइते भएका थिए । घाइते चौधरीलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो। उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका उनलाई चेकजाँच गर्दा ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताएका छन्।