अछाम। नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका प्रत्यासी चन्द्रबहादुर बोहरा ४३१ मत ल्याएर वियजी भएका छन् । एमाले जिल्ला अधिवेशनअन्तर्गत अछाममा भीम रावलनिकट मानिएका प्रकाश शाह पराजित भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट चन्द्रबहादुर बोहरा नेतृत्वमा पदाधिकारीमा प्यानलै निर्वाचित भएका छन् । बुधबार साँझ सार्वजनिक भएको मतपरिणामअनुसार ओलीनिकट बोहरा ४३१ मत ल्याएर निर्वाचित हुँदा रावलनिकट प्रकाश शाहले ३०७ मत ल्याए । बोहरा १२४ मतको अन्तरले विजयी भएका छन् । यस्तै, उपाध्याक्षमा पनि बोहरा प्यानलकै बलबहादुर कुँवर ३८६ मत ल्याएर निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी भीमबहादुर विष्टले ३१३ मत ल्याएका छन् ।
सचिवमा भीमबहादुर रावल (कालो टोपी) ४५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी आदर्श साउँदले २५८ मत ल्याए । कालो टोपी पनि बोहरा प्यानलकै हुन् । यस्तै, सह–सचिवमा बोहरा प्यानलकै डम्बर बिसी र प्रेमबहादुर महर निर्वाचित भएका छन् । उनीहरु क्रमशः २६० र २५२ मत ल्याएर निर्वाचित भएका हुन् । उपसचिवमा ७ जनाको उम्मेदवारी परेको थियो । आठौँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार भएको निर्वाचनको मतगणना बुधबार भएको हो ।
जिल्लामा ७ सय ६२ जना मतदाता रहेकोमा ७ सय ५० मत खसेको थियो ।नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए । बोहरा केपी ओली पक्षबाट र शाह रावल पक्षबाट निर्वाचनमा लडेका थिए । भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसंख्यक, जनजाति र अपांगको मतगणना आज रातिबाटै हुने निर्वाचन समितिले जानकारी दिएको छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।