कञ्चनपुर। नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ। आज बिहान २ बजे सम्पन्न भएको मतदानको मतगणना केहीबेर अघि सुरु भएको हो। बुधबार बिहान १० बजे नै मतगणना सुरु गर्ने भनिएको थियो।
तर, उम्मेदवार लगायतका नेताहरुको कार्यव्यवस्तताका कारण भन्दै ढिलो गरी मतगणना सुरु भएको हो। ४ सय ९९ मतदातामध्ये ४ सय ७० जनाले नेतृत्व चयनका लागि मतदान गरेको निर्वाचन समितिले जनाएको छ। ५ जना पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ। निर्वतमान अध्यक्ष बीरबहादुर थापा ‘पातल’ र सचिव सुरेन्द्र बिष्ट प्यानलबीच प्रतिस्पर्धा भएको छ।
थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द, उपसचिवमा शेरबहादुर चन्द र ईश्वरा कुँवरले प्रतिस्पर्धा गरेका थिए। यसैगरी, बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी रहेको थियो। पाँच दिनसम्म पनि सहमतिको प्रयास हुन नसकेपछि अन्तिममा निर्वाचनबाट नै नेतृत्व चयन प्रक्रियामा गएको हो।