धनगढी। कञ्चनपुरको मझगाँउ विमानस्थल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिलान्यास गरेका छन्। बुधबार मन्त्री आलेले विमास्थलमा भौतिक संरचना निर्माणका लागि शिलान्यास गरेका हुन्।
शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि बढेको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ। विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले रु दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताएका छन्।विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम व्यहोर्ने सहमति यस अघिनै भएको छ। विमानस्थलको लम्बाइ एक हजार ६६२ मिटरको रहने छ भने, ६६ बिघा जमिनमा विमानस्थल रहने बताइएको छ। २०३० सालदेखि सञ्चालमा आएको मझगाउँ विमानस्थल सुरक्षाको कारण देखाउँदै २०५६ सालमा बन्द भएको थियो।“विमानस्थल पुनः निर्माणको शिलान्यास कार्यक्रमको सबै प्रक्रिया पूरा भइसकेको छ” समितिका सदस्य ज्ञानेन्द्रबहादुर महताले भने, “विमानस्थल पुनःनिर्माणको शिलान्यास कार्यक्रम सुरु भएसँगै निर्माण कार्यले गति लिन्छ ।”