काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट चलाउन खोज्ने बतास समूहलाई कारवाही हुने बताएका छन्।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रि आलेले गैर कानूनी रूपमा परिसरभित्र पक्की संरचना बनाएर व्यापार गर्न लागेको पाइएको भन्दै उनीमाथि कारवाही गरिने बताएका हुन् । नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिइएको भन्दै यसमा संलग्न जोकोहीलाई कारवाही गरिने प्रतिबद्धता उनले जनाए । बतास समूहलाई कारवाही गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको दाबी उनले गरे ।
त्यस्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा समर्थन गरेको उनको भनाइ छ। कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिने कार्य खेदजनक रहेको भन्दै यसमा कारवाही गर्न आफूलाई कसैको रोकटोक नरहेको बताए। प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीको समेत बतास समूहसँग साँठगाँठ रहेको चर्चा चलिरहेको छ । यस विषयमा पत्रकारले सोधेको प्रश्नमा आलेले भने, ‘मलाई प्रधानमन्त्री देउवाले नै यसमा एक्सन लिएकोमा धन्यवाद दिनुभएको छ । ओलीले पनि आफूलाई यसमा नमुछ्न भन्नुभएको छ । उहाँहरु दुवैको सहमति छ । मलाई कसैले पनि रोकटोक गर्न सक्नुहुन्न ।’