धनगढी। धनगढीमा सवारी लाइसेन्सको ट्रायल परीक्षा दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनगढीको फाप्ला ट्रायल सेन्टरमा अर्काको नाममा सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि ट्रायल दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार बिहान धनगढीको फाप्ला ट्रायल सेन्टरमा मोटरसाइकल चालक अनुमति पत्रको लागि ट्रायल दिन आएका कैलाली गोदावरी नगरपालिका २ का दीपेन्द्र कुँवर र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ का लक्ष्मण चौधरी पक्राउ परेका छन् ।
मोटरसाइकल चालक अनुमति पत्रको पुनः प्रयोगात्मक परीक्षा दिन आएका दुवै जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा पहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।उनका अनुसार कुँवर भिनाजुको नामबाट र चौधरी दाइको नामबाट ट्रायल दिन आएका थिए । उनीहरू दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको र कानूनबमोजिम कारबाही गरिने प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।