धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको बझाङबाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनकालागि अधिवेशन जारी रहेको छ । एमाले सुदूरपश्चिम प्रदेशअन्तर्गतका ८ जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।
एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकका अनुसार बझाङबाहेक कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, अछाम, बाजुरा र दार्चुलामा जिल्ला अधिवेशन सुरु भएको हो । बझाङमा प्रतिकूल मौसमका कारण हुन नसकेको जनाइएको छ । एमालेको केन्द्रीय सर्कुलरअनुसार एकै दिन जिल्ला अधिवेशन हुन लागेको हो । एमालेले सकभर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भने तापनि यस प्रदेशका केही जिल्लामा मतदान हुने सम्भावना छ।
सर्वसम्मतिका प्रयासहरू जारी रहेका भए पनि आकांक्षीहरूको संख्या एकभन्दा बढी भएकाले उनीहरू आन्तरिक प्रतिस्पर्धाको कसरतमा देखिएका छन् । कैलालीमा वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला सचिवालय सदस्य डेजी पाण्डे अध्यक्षको दौडमा छन् ।अधिकांश जिल्लामा अध्यक्षका लागि एकभन्दा बढी छन् । सहमतिको प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ । प्रदेशको सबैभन्दा चासोका रूपमा हेरिने जिल्ला कैलालीमा नेतृत्वका तीन जना आकांक्षी छन् । रणबहादुर चन्द, रतन थापा र डेजी पाण्डेले आकांक्षी छन् ।
एमालेको अघिल्लो अधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा अहिले जिल्ला अध्यक्ष र सचिवमा निर्वाचित चन्दले उपाध्यक्षको पद सम्हालिरहेका छन् । कैलालीमा सहमति हुने सम्भावना कम रहेको नेताहरूले बताएका छन् । ‘सहमतिको सम्भावना एकदम न्यून रहेको छ’ एक नेताले भने । नेता भीम रावल पक्षधर नेता कार्यकर्ताहरू निर्वाचन हुनुपर्ने जोड दिइरहेका छन् भने रावल इतरपक्ष सहमतिमा टुङ्ग्याउनु पर्ने भनिरहेका छन् । यस्तै, कञ्चनपुरमा पनि हालका अध्यक्ष वीरबहादुर थापा र सचिव सुरेन्द्र विष्ट अध्यक्ष पदको दौडमा छन् । हाल थापाको वर्तमान अध्यक्ष वीरबहादुर थापा र सचिव एवं भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट अध्यक्षकालागि आकांक्षी देखिएको नेता पलल्वराज भट्टले बताए । डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य पदम पालले आकांक्षा देखाएका छन् । बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी देखिएका छन् ।
पार्टीले सहमति गरेमा दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् । तर, उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्ष बन्ने चाहना बनाएका छन् । बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । बाजुरामा नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाको फरक–फरक धारमा हुने चर्चा छ । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको टिमबाट लालबहादुर ओली अध्यक्षका उम्मेदवार रहने र केन्द्रीय सदस्य लालबहादुर थापाको टिमबाट कालीबहादुर उम्मेदवारी रहेन चर्चा छ । युवा पिँढी चुनाव हुनुपर्नेमा जोड दिइरहेका छन् भने केन्द्रीयस्तरका नेताहरू सहमति गरेरै अधिवेशन सम्पन्न पार्ने गृहकार्यमा जुटेका छन् । चुनाव हुँदा अन्तर्विरोध हुने भएकोले सहमतिमै टुङ्ग्याउने कोसिसमा लाग्ने एमाले बाजुराका एक नेताले बताए । अछाममा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकांक्षी देखिएका छन् । सबै जिल्लामा अहिले औपचारिक कार्यक्रम चलिरहेको छ ।