धनगढी। नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुुक्रबार एमालेको कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले एकताबद्ध भएर स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई पहिलो बनाउन कार्यकर्तालाई आग्रह गरे ।
एमाले सचिव भट्टले भने, ‘अगामी चुनावमा पार्टीलाई एक नम्बरको पार्टी बनाउने गरी लाग्नुुस् । शुुभकामना दिन चाहन्छुु ।’ उनले एकता सबभन्दा ठूलो शक्ति भएको उल्लेख गरे । ‘आन्तरिक एकताले नै आगामी चुुनावमा नेकपा एमालेले सबै पार्टीलाई बढार्छ भन्ने विश्वास लिएका छौँ, ।’ भट्टले भने । उनले कैलालीका १३ वटा स्थानीय तह, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्रियाशील भएर खटिनसमेत कार्यकर्तालाई आग्रह गरे ।
प्रदेशका बझाङ बाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा आज जिल्ला अधिवेशन हुन लागेको छ । १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आगामी माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।