बाजुरा। नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अहिलेको गठबन्धन सरकार जनमतको विरुद्धमा रहेको आरोप लगाएका छन्।
बिहीबार प्रेस चौतारी नेपाल बाजुराको पाँचौ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा थापाले पद लोभी र जनमतको विरोधी गठबन्धन सरकारले विकास गर्न नसक्ने बताएका हुन्।
एमाले स्थायी कमिटी सदस्य थापाले गठबन्धन जनताको चाहना,देशको विकास भन्दा पनि एमालेलाई तह लगाउनलाई मात्र गरेको बताए।उनले भने, एमालेले ल्याएको सुखी नेपाली समृद्ध नेपाल अनुरुपको काम नगरी एमालेका विरुद्ध, जनताका आकांक्षा र भावना भन्दा पनि कुनै व्यक्तिका निजी स्वार्थका लागि गरिएको गठबन्ध भएको हो।
जनताको मत प्रकट नहुन दिन र जनतालाई झुक्याएर भ्रम सिर्जना गर्दै अव्यवस्था सिर्जना गर्ने सकिन्छ,भनेर षडयन्त्र भइरहेको थापाको भनाई छ। यस्तै एमाले स्थायी कमिटी सदस्य थापाले पत्रकारिता र राजनिती दुई वटैले समाजलाई जागृत बनाउने,सचेत बनाउने र सत्य कुरालाई सत्यका रुपमा स्थापित गर्ने पत्रकारिता साझा काम रहेको बताए।’पत्रकारिता पेशामा देखिएका सत्य सूचनालाई बाहिर ल्याउनु सम्मान जनक पेशा रहेको थापाले बताएका छन्।
पाँचौ जिल्ला अधिवेशनमा एमाले बाजुरा प्रचार विभाग प्रमुख अमरबहादुर खड्का,प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली,केन्द्रीय सदस्य बसन्त विश्वकर्मा,लेखा आयोग सदस्य सर्पलाल गिरी,प्रेस युनियन बाजुरा अध्यक्ष प्रेम रौले र प्रेस सेन्टर बाजुराका अध्यक्ष सुरेन्द्र शाहीले मन्तव्य राखेका थिए । प्रेस चौतारी नेपाल बाजुराकी संयोजक नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मीराज पाध्यायले गरेका हुन् । भने कार्यक्रमको संचालन रमित वि.क.ले गरेका थिए ।