काठमाण्डौँ। दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ। भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन्।
‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न समस्या छ । दार्चुलाका बासिन्दाले नेपालबाट नेपालकै भूमि आउन पनि तुइनको भर पर्नु परिरहेको छ । तुइन वारपार गर्दा कतिपयको ज्यानै जाने गरेको छ।
दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइनको सहारामा महाकाली तर्ने क्रममा स्थानीय जयसिंह धामी नदीमा बगेर गत साउन १५ देखि वेपत्ता छन्। नेपालको गृह मन्त्रालयले गरेको अनुसन्धानमा धामी तर्दै गरेका बेला भारतीय एसएसबीका जवानले तुइन काटिदिएको पाइएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयले चासो राख्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो।
तर उक्त कूटनीतिक नोटको जवाफ भारतले दिएको छैन। नेपाल सरकारले धेरै समयदेखि दार्चुलास्थित महकाली नदीमा पुल बनाउने विषयमा सहमतिका लागि भारतलाई आग्रह गर्दै आएको थियो। तर भारत तयार भएको थिएन । भारतीय मन्त्रिपरिषद्ले बिहीबार दुई देशबीच पुल बनाउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने अनुमति दिएको छ । केन्द्रीय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले सम्झौतापत्रमा छिट्टै हस्ताक्षर हुने जानकारी दिए । पुलको निर्माण आगामी ३ वर्षमा पूरा हुने उनको भनाइ छ । ‘पुलबाट भारतको उत्तराखण्ड र नेपालका बासिन्दालाई लाभ पुग्नेछ । दुई देशबीचको व्यापार, भाइचारा सम्बन्ध थप बलियो हुनेछ,’ उनले भनेका छन् ।