कैलाली। सुदूरपश्चिमबाट राष्ट्रियसभाको रिक्त सदस्यकालागि तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि एमाले एक्लै निर्वाचनमा होमिएकोमा अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्। तीन तथा कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका एक–एक जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ।
एमालेले एक्लै तथा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनका तर्फबाट खुला सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादीका जगत पार्की र महिलातर्फ नेकपा एकीकृत समाजवादीकी मदनकुमारी शाह ‘गरिमा’ले मनोनयन दर्ता गराएका छन् ।
कैलालीका मिश्र कांग्रेसभित्र रामचन्द्र पौडेलनिकट हुन्। कांग्रेसको आन्तरिक निर्वाचनमा उनी प्रदेश सभापतिमा पराजित भएका थिए । डडेल्धुराका पार्की माओवादीका केन्द्रीय सदस्य हुन्। महिलातर्फको सदस्यमा उम्मेदवारी दिएकी शाह समाजवादीको केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् । एमालेबाट खुलामा डिल्लीराज भट्ट, दलिततर्फ नरेश विक र महिलातर्फ सन्तोषकुमारी शर्मा थापा मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए।
भट्ट सुदूरपश्चिमका पुराना वामपन्थी नेता हुन् । उनी एमालेको सल्लाहकार छन् । एमाले प्रदेश कमिटी सदस्य विक बैतडीका नेता हुन्। धनगढीकी नेतृ शर्मा थापा एमाले केन्द्रीय सदस्य हुन्। राष्ट्रिय सभामा सुदूरपश्चिमबाट निर्वाचित तीन सदस्यसहित २० जना सदस्यको पदावधि आगामी फागुनमा सकिँदै छ । बहालवाला सदस्यको पदावधि रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुनुपर्ने प्रावधानअनुसार आगामी १२ माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो। यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी ९राजपा० का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एकजना प्रदेशसभा सदस्य छन् ।
मतभारअनुसार प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा बलियो छ। यहाँ एकीकृत समाजवादीको मतभार ६७२ छ। त्यस्तै, माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ। राजपा र लोसपाको ४८–४८ मतभार छ । प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ। १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन्। कांग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ । स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ । त्यस्तै एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ ।


