काठमाडौं। सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेको तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभा सदस्यकालागी एमालेका ३ जना तथा कांग्रेस १, माओवादी केन्द्र १ तथा एकीकृत समाजवादीका १ जनागरी तीन पदकालागि ६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय धनगढीले जनाएको छ।
कैलालीको धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मङ्गलवार मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगले राष्ट्रियसभाका सदस्यका लागि उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको थियो। आउँदो माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ। सत्तारूढ गठबन्धनमा आबद्ध तीन दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का तर्फबाट उमेदवारी दर्ता गराइएको हो। कांग्रेसका तर्फबाट खुलामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेलधुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले मनोनयनपत्र दर्ता गराएका हुन्।
एमालेका तर्फबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । राष्ट्रिय सभामा सुदूरपश्चिमबाट निर्वाचित तीन सदस्यसहित २० जना सदस्यको पदावधि आगामी फागुनमा सकिँदै छ । बहालवाला सदस्यको पदावधि रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुनुपर्ने प्रावधानअनुसार आगामी १२ माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो। निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यहरू गरी सुदूरपश्चिममा कूल २ सय २७ मतदाता मतदाता रहेका छन्। प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एक/एक जना प्रदेशसभा सदस्य छन् । त्यस्तै स्थानीय तह अन्तर्गत मेयर तथा उपमेयरको संख्या १७५ रहेको छ । सुदूरपश्चिममा गठबन्धनको बहुमत छ ।