कैलाली । राष्ट्रियसभा निर्वाचनकालागि सुदूरपश्चिमम प्रदेशबाट सत्ता गठबन्धनका तीनजना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेलधुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्।
कैलालीको धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गरेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभाका सदस्यका लागि उम्मेदवारी दर्ताको समय आज १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको थियो । माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यहरू गरी सुदूरपश्चिममा कूल २ सय २७ मतदाता मतदाता रहेका छन्। प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एक/एक जना प्रदेशसभा सदस्य छन् । त्यस्तै स्थानीय तह अन्तर्गत मेयर तथा उपमेयरको संख्या १७५ रहेको छ ।