धनगढी। राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेका सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। सुदूरपश्चिम प्रदेशमा आज बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिए अनुसार एमाले उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमै पुगेर मनोनयन दर्ता गराएका हुन्।
एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन्। नेकपा एमालेको प्रदेश कार्यालयबाट र्यालीसहित उमेदवारहरु निर्वाचन कार्यालय पुगेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनकालागि आज उम्मेदवारी दर्ता हुँदैछ। माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । आज बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन कार्यालय कैलालीका सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिएका छन्। सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलका उम्मेदवार पनि मनोनयन दर्ताको तयारीमा छन्।निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यहरू गरी सुदूरपश्चिममा कूल २ सय २७ मतदाता मतदाता रहेका छन्। प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एक/एक जना प्रदेशसभा सदस्य छन् । त्यस्तै स्थानीय तह अन्तर्गत मेयर तथा उपमेयरको संख्या १७५ रहेको छ ।