धनगढी। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।
‘हामीले सवारी ज्यान मुद्दामा आइतबार उहाँलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेका छौं,’ डीएसपी जोशीले भने । डीएसपी जोशीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्। न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो। घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए ।