धनगढी। धनगढीमा घरबेटीलाई लुड्डु खुवाइ बेहोश बनाएर भाडामा बस्दै आएका दुई भारतीय नागरिकले लुटपाट गरेर फरार भएका छन् ।
धनगढी उपमहानगरपालिका–३ मिलन चोकका प्रशुराम बाँनियाको घरमा बस्ने दुई भारतीयले लुटपाट गरेर फरार भएका हुन्। गत पुस १५ गतेदेखि भाडामा बस्दै आएका उनीहरूले आइतबार राति आफूहरूलाई लड्डु खुवाएर बेहोश बनाइ लुटपाट गरेको बानियाँले बताए।
बाँनिया भने, “उनीहरूले नयाँ वर्षको अवसरमा घरमा भएका सबैलाई मिठाइ खुवाएका थिए, मिठाइ खाइसकेपछि हामीहरू बेहोस भयौँ ।” उनिहरु बेहोस भएको खबर पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होस आएपछि घरबाट दुई थान मोबाइल सेट, दुई सिक्री, एक सुनको ब्रेसलेट, औँठी र चाँदीसहित नगद चोरी भएको थाहा पाएको उनले बताए।
अहिले बेहोश भएका दम्पतीको धनगढीस्थित निर्सग हस्पिटलमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान शुरू गरिएको बताएका छन्। साथै उनले घर भाडामा बस्न आएकाहरूको जानकारी लिएर मात्रै भाडामा बस्नु दिनुपर्ने कुरामा सजग हुनुपर्ने सुझाव दिएका छन् ।