कैलाली। नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यस्तै राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशबाट नारायण मिश्र उम्मेदवार रहने भएका छन् । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सुदूरपश्चिमसहित राष्ट्रियसभाका लागि ६ जनाको नाम टुङ्गो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा कुमारी गुरूङ र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ।
मिश्र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा पराजित भएका थिए । उनी जिल्ला विकास समितिका पूर्वसभापति पनि हुन् । सत्तारूढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको छ । केन्द्रीय कार्यसमितिको बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिन समेत आहृवान गरेको छ ।