धनगढी। धनगढीमा माघ १८ गतेदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुने भएको छ। कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव यस वर्ष माघ १८ गते देखि २९ गतेसम्म आयोजना गरिन लागिएको कैलाली उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
२०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवको १५औं संस्करण माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए। महोत्सवमा व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता हुने जनाइएको छ। सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसंगै विगतका दिनमा महोत्सवले उत्पादन गरेका कलाकारलाई पनि प्राथमिकता दिइने उनले बताए।
उनका अनुसार सुदूरपश्चिमका परिकार सहितका महोत्सव स्थलमा खाना र खाजा, यस्तै ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीको स्टल राखिने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको भनाई छ। कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ३ सय बढी स्टल महोत्सवमा राखिने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गर्ने जनाएको छ भने चार लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।