कञ्चनपुर। कञ्चनपुरको हल्दुखालमा सुदूरपश्चिम क्षेत्रको मौलिक संस्कृतिक पर्व भुवा भस्सो खेलिने भएको छ। कञ्चनपुरको शिद्ध सामुदायिक समिति हल्दुखालको आयोजनामा भोलि १८ गते जनसेवा मावि हल्दुखालमा भुवा भस्सो खेलिन लागिएको आयोजक समितिका अध्यक्ष तथा देउडा गायक लक्ष्मण अधिकारीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने उक्त कार्यक्रममा सुदूरपश्चिमका वरिष्ट गायक नरेन्द्रराज रेग्मी, देउडा गायक लालबहादुर धामी, गायिका संगीता शाह, गायक तथा र्यापर अराज केशव र गायक लक्ष्मण अधिकारीको विशेष प्रस्तुति रहनेछ । साथै कार्यक्रममा महिलाको देउडा खेल समेत हुने अध्यक्ष अधिकारीले बताए । यो पर्व खासगरी सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइन्छ ।
झण्डै चार दशकअघिसम्म हल्दुखालमा समेत धुमधामसाथ यो पर्व खेलिन्थ्यो। द्वापरयुगदेखि महाभारत युद्धपश्चात असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा पाँच पाण्डवले यो पर्व चलाएको मानिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बझाङ, बाजुरा र अछाममा सार्वजनिक विदा समेत दिएको छ ।ढाल, तरबार समातेर बाजाको चाल अनुसार चाल मिलाउँदै खेलिने यो मौलिक पर्व पुष महिनाको औँसीदेखि पूर्णिमासम्म वा माघ मसान्तसम्म इच्छा अनुसार खेल्न सकिन्छ ।