धनगढी। आज नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर विशेष रुपमा मनाइदै छ।
देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले भेला भएर यो दिवस मनाउने गरेका छन् ।
अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्याउने उद्देश्यले टोपी दिवस मनाउन थालिएको युवाहरुले बताएका छन् । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् ।यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।