धनगढी। कैलालीको धनगढीमा राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना उद्घाटन गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय बिहीवार उद्घाटन गरिएको हो।
यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्न कार्यालयको समुद्घाटन गरिएको हो। २०७४ सालमा सो निर्वाचन प्रदेशको डोटी जिल्लामा गरिएको थियो। यस वर्ष निर्वाचन आयोगले सो निर्वाचन धनगढीमा गर्ने निर्णय गरेको थियो।
एक समारोहकाबिच जिल्ला न्यायधिश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले डोरी तानेर ब्यानर उद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइने छ ।
सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुने छ । प्रदेशमा एक महिला, दलित र अन्य पदका लागि निर्वाचन हुने छ । निर्वाचन अधिकृत पनेरुले धनगढीस्थित प्रदेश सभा सचिवालयमा दुई वटा मतदान केन्द्र स्थापना गरी मतदान गराइने बताए । सोका लागि एक मतदान केन्द्रमा तीन वटा मतपेटिका राखिने छ। तीन पदका लागि प्रदेश सभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।


