कैलाली। नेपाली कांग्रेस कैलालीको पौष २७ गते हुने जिल्ला अधिवेशनका लागी लबिङ सुरु भएको छ । कैलाली जिल्ला सहित १६ ओटा जिल्लामा यस अघि प्रदेश अधिवेशन लगायत अन्य कारणले जिल्ला अधिवेशन हुन सकेको थिएन।
नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिको नेतृत्वका लागि आकांक्षीहरू धेरै छन्। नेपाली कांग्रेस कैलालीमा १८ हजार भन्दा बढी क्रियाशील सदस्यहरु रहेको नेपाली कांग्रेसले जनाएको छ। जिल्ला अधिवेशनका लागि कैलालीमा २ हजार ५ सय ७२ जना प्रतिनिधि छानिएका छन् । अहिले सम्म पार्टी जिल्ला सभापतिको लागि छ जनाले लबिङ गरिरहेका छन् ।
सभापतिमा लबिङ गर्ने ६ जना को-को हुन् ?
जिल्ला सभापति नरनारायण शाह मनु प्रदेश महामन्त्री भएपछि कार्यबहाक सभापतिको जिम्मेवारी प्रकाश बहादुर बमले पाएका छन् । उनी १३ औँ जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । उनले पनि अहिले कैलाली सभापतिमा लबिङ गरिहरेका छन् ।कैलालीको सभापतिको लागि लबिङ गरिरहेका अर्का आकाङ्क्षी हुन् नारायण भट्ट उनी पूर्व जिल्ला उपसभापति हुन् । उनी ११ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । भट्ट हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् ।
यसैगरि १३ औं अधिवेशनमा सभापतिका लागि होमिएका भीम बडूवाल पनि सभापतिको दौडमा छन् । १३ औं अधिवेशनमा बडुवाल नरनारायण शाह मनुसँग पराजित भएका थिए । नेपाल बिद्यार्थी सङ्घ कैलालीका सभापति समेत भइसकेका उनी यस पटक पार्टी सभापतिको लागि लबिङ गरिरहेका छन् । सभापतिका अर्का आकाङ्क्षी गणेश देउवा पनि यस अघिको अधिवेशनमा सभापतिका लागि निर्वाचनमा होमिएका थिए । नरनारायण शाह मनुसँग निर्वाचनमा होमिएका देउवा र अर्का उम्मेदवार बडूवालको समान मत आएको थियो । त्यसपछि देउवाले बडूवाललाई समर्थन गरेका थिए । देउवाको समर्थन पाएपछि पनि बडूवालले शाहलाई भने हराउन सकेनन् ।
कैलाली क्षेत्र नम्बर ४ वाट दोस्रो संविधान सभामा टिकट पाएका खेमराज चौधरी पनि अहिले सभापतिको लागि दौडमा छन् । उनी तत्कालीन अवस्थामा क्षेत्र नम्बर ४ को पार्टी सभापति समेत भएका थिए । संविधान सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभामा घटाएर ५ वटा निर्वाचन क्षेत्र तोकिएको थियो । त्यसपछि चौधरी क्षेत्र नम्बर ३ को पनि सभापति भए । क्षेत्रीय सभापति भइसकेका चौधरी अहिले जिल्ला सभापतिको लागि लबिङ गरिरहेका छन् ।
अर्का आकाङ्क्षी नवराज रावल हुन् । उनी सामाजिक सङ्घसंस्थाहरूमा सक्रिय छन् । तीन कार्यकाल जिल्ला कार्यसमिति सदस्य रहेका उनी अहिले सभापतिको दौडमा छन् । यस अघि उनी जेसिस टिकापुर, टीकापुर उद्योग वाणिज्य सङ्घ र टीकापुर खानेपानी संस्थाका पनि अध्यक्ष थिए । कांग्रेस केन्द्रीय सदस्यमा दुई जना निर्वाचित भएपछि आकांक्षीको संख्या केही कम भएको हो। यसअघि सुदूरपश्चिममा नेपाली कांग्रेस संसदीय दलका नेता डा,रणबहादुर रावल र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड पनि सभापतिको दौडमा रहेको चर्चा थियो । रावल भूगोलको कोटाबाट र वड दलितको कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनीहरू दुवै जना जिल्ला सभापतिको दौडबाट बाहिरिएका हुन् ।
अन्य पदाधिकारीमा आकांक्षी धेरै
सभापतिको एक पदमा छ जना आकांक्षी भएजस्तै सभापति बाहेकका पदहरूमा पनि आकांक्षी धेरै देखिएका छन् । उपसभापतिमा अहिले सम्म लोकराज पाण्डे आगो र प्रकाश देउवा को चर्चा छ । सभापति पछि धेरैको रोजाइमा सचिव परेको छ । सचिवमा नृप सुनार, केशव मिश्र, अमृत बिसी र कृष्ण पाण्डेय रहेका छन् । सह सचिवमा भने आकांक्षी देखिएका छैनन् । कैलालीमा १३ स्थानीय तह छन् । ती मध्ये छ गाउँपालिका ६ नगरपालिका र एक उपमहानगरपालिका रहेका छन् । छ गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुने छन् । त्यस्तै छ नगरपालिकाका एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुने छन् । उपमहानगरपालिकाबाट दुई महिला सहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुने छन् । त्यसको दुई तिहाइ समावेशी सदस्य सङ्ख्या निर्वाचित हुने छन् ।