कैलाली। कैलालीमा झण्डै सात हजार मतदाताहरु थपिएको जनाइएको छ। आगामी निर्वाचनहरुलाई लक्षित गरेर कैलालीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय र ईलाका प्रशासन कार्यालय गरी झण्डै ७ हजार मतदाताहरु थपिएका हुन्।
१८ मंसिरदेखि पुस २ गतेसम्म पहिलो चरणको विशेष कार्यक्रममा २ हजार ९ सय १६ जनाले फोटोसहितको मतदाता नामावाली दर्ता गराएका छन्। पहिलो चरणमा जिल्लाको कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली संकलन भएको हो। यस्तै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मंसिर महिना मात्र ४ हजार ५२ जनाले मतदाता नामावली दर्ता गराएका छन्।
यसरी कैलालीमा ६ हजार ९ सय ६८ नयाँ मतदाताहरु थपिएका हुन्। प्रत्येक पालिकाका केन्द्रमै १५ दिनसम्म टोली बसेर फोटोसहितको मतदाता नामावली संकलन गरेको निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए। कैलालीबाट अन्य जिल्लाका लागि समेत मतदाता नामावली दर्ता गराएका छन्। अन्य जिल्लाका लागि २ सय ३४ जनाले मतदाता नामावली दर्ता गराएको उनले बताएका छन्। यस्तै दोस्रो चरणको फोटोसहितको मतदाता नामावली संकलन सुरु भइसेकेको छ। पुष ४ देखि १८ गतेसम्म दोस्रो चरणको विशेष फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ।
जिल्लामा दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा मतदाताको नामावली संकलन भइरहेको छ। धनगढी उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालयबाट मतदाता नामावली भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए। जिल्लाको घोडाघोडी नगरपालिकाको इलाका प्रशासन कार्यालय सुखड र टिकापुर नगरपालिकाको इलाका प्रशासन कार्यालय टीकापुरबाट मतदाता नामावली संकलन भइरहेको भट्टले बताए। यसबीच हाल पनि जिल्लाका ४ स्थानबाट नामावली संकलन कार्य भइरहेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय नामावली संकलन कार्य भइरहेको छ।


