धनगढी। सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात भइरहेको हो।
मंगलबार राती देखि विभिन्न स्थानमा हिमपात भएसँगै चिसो बढेको छ भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार देशभर पानी परेको छ।डडेल्धुरा, बैतडी, बाजुरालगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ। डडेल्धुरा सदरमुकाममा मंगलबार साँझ ७ बजेपछिबाट पानीसँगै हिउँ पर्न सुरु भएको थियो।
डडेल्धुराको अनारखोली, हगुल्टे क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए। यस्तै बैतडीको खोडपेमा पनि बाक्लो हिमपात भएको छ। बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझलगायतका स्थानमा हिजो साँझदेखि र केही स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । हिमपातका कारण गाडीहरु चल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
यस्तै, बाजुराका हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले जानकारी दिए। त्यसैगरी दार्चुलाको उच्च हिमाली क्षेत्र तिङ्कर, छांगरु, दुम्लिङ र खण्डेश्वरीमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। अछाममा पनि हल्का हिमपात र वर्षा भइरहेको बताइएको छ। जिल्लाको चौखुट्टे तथा कमलबजारलगायतका क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालले जानकारी दिए ।


